चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध रेस्टुराँको सञ्चालनपछि सो लोपोन्मुख चराको सङ्ख्या चार सय प्रतिशतले वृद्धि भएको छ।
गिद्ध संरक्षण गर्ने उद्देश्यले नवलपरासीको पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा डेढ दशकदेखि जटायु रेस्टुराँ सञ्चालनमा छ।
प्रकृतिको कुचीकारका रूपमा चिनिने गिद्धको सङ्ख्या वृद्धिलाई संरक्षणमा निकै ठुलो उपलब्धिको मानिएको छ।
जटायु रेस्टुराँमा चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा प्रजनन गरिएका गिद्ध पनि ल्याएर केही दिन खोरमा राखिन्छ।
जसलाई पछि निगरानी उपकरण लगाएर छाडिन्छ।
“रेस्टुराँ सुरु गर्दा यहाँ १७ वटा गुँड रहेकोमा समुदायले संरक्षण गर्न थालेपछि ती ६७ वटा पुगेको थाहा भएको छ,” संयोजक डीबी चौधरीले भने।
“प्रजनन गरी छाडिएका गिद्धले पनि प्राकृतिक रूपमा रहेको गिद्धसँग घुलमिल भएर जोडी बनाउन थालेका छन्।”
संरक्षणको यो प्रयास सुरु गर्दा सात प्रजातिका ७२ वटा गिद्ध पाइएका थिए।
चौधरीले भने, “रेस्टुराँमा गिद्धलाई चाहिने परिकार उपलब्ध हुन थालेपछि त्यो सङ्ख्या ३३४ पुगेको छ।”
गाउँमा बूढो भएका गाईगोरुहरू गाउँलेहरूले रेस्टुराँलाई प्रदान गर्ने गरेको
र उक्त गाईगोरु मरेपछि गिद्धलाई दिने गरिएको छ।

