हावापानी नेपाल
माघ १०, २०७९
बाजुराको बिच्छ्या केन्द्रविन्दु भएर ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा गएको भुकम्पमा परि एक जनाको मृत्यु भएको छ भने थप विवरण आउन बाँकि छ ।
हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात भइरहेकाले जनजीवन झनै कष्टकर बनेको छ । बडिमालिका न. पा. वडा नं. -७ का वडाध्यक्ष धर्मराज पाध्येका अनुसार हिमाली गाउपालिका बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भुकम्पले उक्त वडामा १ घर पुर्ण क्षति भएको छ भने दर्जनौं घर चर्किएका छन । गौमुल गाउँपालिका वडा नं. २ निवासी जमुना रोकायाको पहिरोमा परि घटनास्थलमै मृत्यु भएको छ । जिल्लामा दर्जनाै घर पुर्ण रुपमा भत्किएको छन् भने करिब १०० घर बस्न नमिल्ने गरि चर्किएका छन् ।
मिडियाकर्मी कविराज कार्कीले फेसबुकमा लेखेका छन्ः “बिहानदेखि निरन्तर हिमपात भइरहेका बेला दिउसो गएको भुकम्पको धक्काले हल्लाएपछि फेरि के पो हुने हो भन्ने डर पो पैदा भयो ।”
गएको १ वर्षमा नेपालमा ४० वटा भुकम्पको घक्का रेकर्ड भएका छन् ति मध्य २४ वटा भुकम्पले पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएका छन् ।
हिमपात वा वर्षा हुनासाथ बाटोघाटो बिग्रिएर कतै यात्रा गर्नु पर्दा गाडी धकेल्नुपर्ने बाध्यता बढ्दै गएको र ढुक्कसँग यात्रा गर्न नपाईने भन्दै चुनावपछि नफर्किएका जनप्रतिनिधिलाई प्रश्न गर्दै बझाङका डि. बि. बिस्टले फेसबुकमा लेखेका छन्ः
“हिँउद धुलाम्य, बर्खा हिलाम्मे, सडक अवरुद्ध हुने, सुत्केरी ,दुःखी विरामीहरूले जहिले पनि सास्ति खेपि राख्नु पर्ने ? याे परिस्थितिकाे अन्त्य कहिले हाेला ? कुन सरकारले ध्यान देला ?
आगामी २४ घन्टा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना देखिएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार भोली (बुधबार्) मध्यपश्चिम, सुदुर पश्चिमको पहाडी र हिमाली भूभागमा वर्षा र हिमपात हुने देखिन्छ । गण्डकी जलाधार देखि पश्चिमी भू-भागमा, भैरहवा र नेपालगञ्ज बाहेकका ठाउँमा उड्डयन सेवा प्रभावित होला । पोखरामा पनि बिहानदेखि बादल र अपरान्ह वर्षा हुने अनुमान गरिएको छ भने अन्नपुर्ण हिमालको दक्षिणि भू-भागमा हल्का वर्षा र हिमपात हुनेछ । काठमाडौं र मुलुकको बाँकि भूभागमा मौसम घमाइलो नै हुनेछ ।