Hawapani live update: 03/21/2023
Photo by: Gaurab Bhandari
यस वर्ष २०७९ को हिउँद अवधि (मंसिर १५ गते देखि फाल्गुन १६ गते सम्म; 1st December 2022 – 28th February 2023) मा देशभर सरदर भन्दा कम वर्षा मापन गरिएको छ । उच्च हिमाली भू-भागहरुमा पनि उल्लेख्य रुपमा हिउँ पर्न सकेन । सुदुर पश्चिम र कर्णाली प्रदेश र गण्डकीका हिमाली भेगहरुमा हिउँदको अन्ततिर आइपुग्दा हिमपात भएपनि मध्य र पूर्वी नेपालले यो हिउँद अधिक खडेरी खप्नुपर्यो ।
देशका विभिन्न हिमालहरु यो हिउँद नाङ्गै जस्तै भए । तर हिउँद सकिनासाथ, प्रि-मनसुनको पहिलो महिनाको मध्यदेखी देशभर हल्का र मध्यम बर्षा भइरहेको छ । पछिल्ला केही दिनहरुमा दाङ, लमजुङ, सिन्धुली, मकवानपुर र काठमाण्डौ उपत्याकामा वर्षा भएरहेको छ । छिटफुट बर्षा कहिले पूर्व-कहिले पश्चिम ओहोरदोहोर गरिरहेकै छ, जसको कारणले मार्चको पहिलो हप्ताबाट सक्रिय देखिन थालकेो डढेलोलाई समेत राहत मिलेको छ कृषी-बालीनालीलाई पनि यो वर्षा त्यति हानिकारक देखिँदैन।
किहि दिनयता देशका उच्च हिमाली भेगहरुमा पनि हिमपात भइरहेको छ । गोरखाको चुम भ्यालीमा निकै लामो समयपछि हिउँ परेको छ ।
घुमघामका लागी नयाँ सिजन सुरु हुनै लाग्दा, चुमनुब्री गाउँपालिकाको निले गाउँमा विदेशीहरुको चाप पनि बढ्दै जान थालेको छ, स्थानिय होटल र पर्यटन व्यवसायीहरु मार्च महिनामा हिउँ पर्नु सुखद रहेको बताउँछन् । । दिनको १०-१५ जना विदेशी पर्यटकहरु चुम भ्याली पुग्न थालेका छन् । घाम लाग्ने, धुम्म हुने, हिउँ पर्ने बादल लाग्ने र फेरी घाम लाग्ने प्रक्रिया चलिनै रहेको छ । हिउँदको अन्त्यमा हल्का हिमपात भएपनि यो वर्षकै सबैभन्दा धेरै हिउँ हिजो र आज परेको स्थानियहरु बताउँछन् ।
उत्तरी गोरखाको चुम भ्यालीलाई पवित्र भूमि मानिनुका साथै संस्कृति, इतिहास र बौद्ध गुरूहरूको लागि निकै नै महत्वपूर्ण ठाउँका रुपमा लिईन्छ । प्रचिन बौद्द संस्कृतिको थलोको रुपमा परिचित चुम भ्याली पशुपँक्षी काटमार निषेधित क्षेत्र समेत हो । आउँदो सिजनमा नयाँ पर्टकिय गन्तब्यको खोजिमा हुने जो कोहिलाई चुम भ्यालीले चुम्बक झै आकर्षण गर्ने पहिलो छनक हिउँले दिएको छ ।
यस्तो छ आगामी २४ घण्टाको लागी मौसम पूर्वानुमान महाशाखाको अनुरोधः
सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
More weather updates on: https://www.facebook.com/hawapaninepal/