पाकिस्तानमा बाढी बिध्वंशः बाढी अघि र पछिका तस्विर
भदौ १५, २०७९
हावापानी संवाददाता
लगातारको भिषण वर्षापछि पाकिस्तानमा आएको बाढीमा परेर ११ सय भन्दा बढीको ज्यान गएको छ । त्यसमा पनि ३८० बालबालिकाको मृत्यु भएको छ। पाकिस्तान सरकारले घोषणा गरेको “जलवायु विपत्ती”मा तीन करोड ३३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यसपालीको सुपर मनसुनलाई पाकिस्तानमा २०१० मा गएको को बिध्वंशकारी बाढीसँग तुलना गरिएको छ । देशव्यापी भारी वर्षाको कारण सुरु भएको बाढीमा सिन्ध र बलोचिस्तान प्रान्त बढी प्रभावमा परेका छन् ।
मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य विपद् मा परी पाकिस्तानमा ठूलो धनजनको क्षति भएको छ । देशको १ तिहाई भाग पानी मुनी रहेको जलवायु मन्त्री शेरी रेहमानले बताएकी छन् ।
ट्विटरमा उनले लेखेकी छन्ः “हाम्रा जनता चरम संकटको अवस्थामा छन् जो हृदयविदारक छ। हामीलाई पाल, प्याकेटका खाना , हाईजिन किट, पिउने पानी र उद्धार गर्न हेली र डुङ्गाको चाहिएको छ। तर हामीले अहिले 33 मिलियन भन्दा बढी प्रभावित मानिसहरूलाई राम्रो सेवा दिन आवश्यक छ र यो संकुचित समयमा राज्यका स्रोतहरू अधिकतम हिसाबले खुम्चिँदै गएका छन् ।”
प्रधानमन्त्री शहबाज शरिफले देशको करिब १५ प्रतिशत जनसंख्या बाढीबाट प्रभावित भएको र यो वर्षको बाढी हालसम्मकै घातक रहेको बताए । पछिल्लो समय देखिएको अकल्पनीय सङ्कट र बाढीले निम्त्याएको क्षति अस्वाभाविक भएको र त्यसको मुख्य कारक जलवायु परिवर्तन नै रहेको विज्ञहरू बताउँछन् ।
बि.बि.सि का अनुसार बाढीका कारण आधाभन्दा धेरै कपास बाली नष्ट भएको छ भने तरकारी र फलफूल अनि धानबालीमा पनि उत्तीकै क्षति पुगेको छ ।
पाकिस्तान हाल बाढीको कहरमा फसेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गटर्सले बताएका छन् । दक्षिण एसिया जलवायु संकटको हटस्पट रहेको बताउँदै उनले भनेका छन्ः “हामी निद्रामा हिंड्न छोडौं, जलवायु परिवर्तन पृथ्वीको विनाश दिशामा छ । आज पाकिस्तानमा यस्तो भयो । भोलि, यो तपाईंको देश हुन सक्छ।”