हावापानी नेपाल असार १७, २०८१
मनसुनजन्य विपद्का कारण २२ दिनमा ४४ जनाको ज्यान गयो ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आगामी ३ दिन सम्म सतर्कता अपनाउन पर्ने जानकारी गराएको छ । मनसुन सुरु भएको १ महिना पनि नपुग्दै महाशाखाले जारी गरेको यो दोस्रो विशेष बुलेटिन हो । गत जेठ २८ बाट सरदर भन्दा ३ दिन चाँडो गरेर २०८१ सालको मनसुन सुरु भएको हो । मनसुन सुरु भएदेखी देशभर विभिन्न विपद्का घटनामा पनि ५४ जनाको मृत्यु भएको छ, जसमध्य पहिरोमा परेर २४ जनाको ज्यान गएको छ ।
यस वर्षको मनसुनले पूर्वी नेपालमा धेरै नै मनसुनजन्य विपद्का घटना घट्न सक्ने अनुमान विज्ञहरुले गरेका थिए । गत शनिबार गुल्मीमा एकै परिवारका पाँच जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । मनसुन सुरु भएको २२ दिनको तथ्याङकलाई केलाउने हो भने पूर्वी नेपाल र मध्य नेपालमा मनसुनको प्रभाव व्यापक देखिन्छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार गएको २२ दिनमा पहिरोमा परेर २४ जनाको ज्यान गएको छ, चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्या १९ छ र बाढीका कारण १ एक जनाको मृत्यु भएको छ । यसरी मनसुनजन्य विपद्को मात्र तथ्याङ्क केलाउने हो भने सरदरमा दैनिक २ जनाको ज्यान गएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन-२ जारी गर्दै मिति २०८१-०३-१७ गते सोमबार देखि मिति २०८१-०३-२० गते बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको छ ।
मनसुन विशेष बुलेटिनमा उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिम भनेर ३ खण्डमा प्रदेश र जिल्लाहरुलाई छुट्याईएको छ । कोशी प्रदेशका सबै जिल्लाहरु उच्च जोखिममा रहेका छन् भने बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका ८ जिल्ला र लुम्बिनी प्रदेशमा ९ जिल्ला आगामी ३ दिनको लागी उच्च जोखिममा रहेका छन् । यो अवधिभर भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।