हावापानी नेपाल- फागुन २५, २०७८
नेपालमा पहिलो पटक शल्यक्रिया मार्फत हात्तीको छावा (भाले बच्चा) जन्मिएको छ । हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा
रहेको २५ वर्षको गण्डकीकली हात्तीलाई दुई दिनदेखी बेथा लागेको थियो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले , क्यानडाका पशु चिकित्सक डा. निख मास्टर समेतको सहयोग लिएर हात्तीको शल्यक्रिया गरेको हो ।
शल्यक्रियामा संलग्न चिकित्सक डा. अमिर सडौलाका अनुसार २ दिनदेखी औषधी उपचार गर्दा पनि हात्तीले बच्चा जन्माउन सकिरहेको थिएन । हात्तीको बच्चा मलद्वारको तल्लो भागमा अड्किएर बसेको थियो । हात्तीको बच्चालाई तानेर निकाल्दा सुरुमा सास फेर्न नसकेर निकै कमजोर अवस्थामा पुगिसकेको थियो । सि.पि.आर गरेर माहुतहरुको सहयोगमा सुँडबाट हावा दिएपछि छावा बाँच्न सफल भएको हो । २०४२ मा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता ६२ वटा हात्तीका बच्चा जन्मिएका छन् ।