हावापानी नेपाल, पुष २८, २०७९
यसपाली पुष सकिन लागिसक्दा पनि हिउँदे वर्षा भएको छैन । हिमाली जिल्लाहरुमा पनि हिउँ नपरेका कारण हिमालका फेदहरु नाङ्गा देखिएका छन् । पछिल्ला वर्षहरुमा मौसमी फेरबदलको स्वरुप बदलिँदै गएको र जलवायु परिवर्तनको कारणले यसो हुन गएको विज्ञहरुले बताएका छन् । हिउँ नपरेका कारणले हिमाली भेगका कृषकले आलु रोप्न नपाएका देखी पर्यटकिय गन्तब्य बनेका ठाउँहरुमा हिउँ नपरेर व्यवसाय चौपट भएको सम्मका खबरहरु आइरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हिउँदमा हिमपात र वर्षा कम हुने पूर्वानुमान पहिले नै गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ता कँडेलका अनुसार यो हप्ता पनि हिउँदे वर्षा र हिमपात हुँने सम्भावना न्यून रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना भने कायमै छ । बिहानको समयमा देशका धेरै भू-भाग र तराईका जिल्लाहरुमा हुस्सु/कुहिरो लाग्नेगरेको छ । आगामी साताका अधिकांश दिनहरूमा बिहान र रातीको समयमा हुस्सु/ कुहिरोको सम्भावना रहेको भएपनि पानी पर्ने कुनै सम्भावना देखिएको छैन ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार यो जाडोमा पानी पर्ने सम्भावना निकै कम रहेको छ । यसपाली “ला-निना” मौसमी प्रणाली सक्रिय रहेकोले हिउँद औषतभन्दा सुक्खा हुने उनले बताएका छन् । मनसुनमा अत्याधिक पानी पर्ने र हिउँद सुख्खा रहने मौसमी प्रणालीको प्रक्षेपण रहेको उनले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले हरेक बिहान तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन समेत जारी गर्दै आएको छ ।
मौसमबारे थप जानकारीका लागीः मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा जानुहोस ।