सात जनाभन्दा बढी मानिसहरुलाई गाडीमै राखेर उपचार गर्न सकिने विपद् सामूहिक उद्धार एम्बुलेन्स (Mass Casualty Evacuation Ambulance) के हो ? यसले कसरी काम गर्छ ?
हावापानी संवाददाता
काठमाडौं, साउन ७
गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरिएको छ । त्यसैगरी राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरिएको अपांगता सहायता सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्धार एम्बुलेन्स(Mass Casualty Evacuation Ambulance) छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत ‘ए क्लास’ को एम्बुलेन्समा हुने सबै खालका उपकरण(Critical care facilities) जडान गरिएका छन् । ६ वटा बेड सहितको यस एम्बुलेन्समा एकैपटकमा ७ जना भन्दा धेरै बिरामीको उपचार गर्न सकिन्छ ।
राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरिएका सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा(Prosthetic) लगायतका १५१ प्रकारका सामग्री छन् ।
नेपालमै पहिलो पटक विपद् सामुहिक उद्धार एम्बुलेन्सहरु ल्याइएको हो। यी एम्बुलेन्समा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सक्छन् । विपद्का समयमा यस्तो प्रविधि जडित एम्बुलेन्स निकै नै प्रभावकारी हुने विज्ञहरु बताउँछन् ।
त्यस्तै, थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ हरु पनि सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ । यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा संचालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा संचालन हुनेछन् ।
मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा १–१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।
त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका खोँज तथा उद्धार (Search and Rescue) उपकरणहरु सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री बालकृष्ण खाणले सबै सामग्री सम्बन्धित ठाउँमा पुर्याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा सदुपयोग गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरु महत्वपूर्ण हुने धारणा राखे ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरलेले एम्बुलेन्स तथा उपकरणहरुको व्यवस्थाले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताए ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बेला बेला प्राप्त उपकरणहरुले बलको खोज तथा उद्धार क्षमता अभिवृद्धि भएको बताए ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतापसिंह, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय अपांग कोषका अध्यक्ष डेकराज भट्टराई लगायतको उपस्थिति थियो ।