दशैंमा हराउँदै गएको पिङ हुस्सुभित्र हराएको छ
प्रकाश चन्द्र जिम्बा, ओखलढुङ्गा
दशैं तिहारका बेला अहिले पनि फाट्ट फुट्ट पिङ देख्न पाइन्छ । पिङमा मच्चिने काईदाका अनेक आयामहरु छन् । विशेष त गाउँघरमा टीका थाप्ने दिन एकै पटक भएपनि भुइँ छोड्नका लागि पिङ खेल्ने चलन छ । केटाकेटीका लागि दशैंको रमाईलो मध्य, पिङ एक हो । गाउँघरमा अहिले रोटे पिङ र लिङे पिङ देख्न सकिन्छ । दुबैका आ-आफ्ना विशेषता छन्- मक्सद भने भुईं छाडेर शरदको मातलाग्दो हावामा एकैछिन भएनि हराउने हो । चङ्गाजसरी पिङमा चाचाहुँई गर्नका लागि मौसमको ठूलो भूमिका छ । दशैंको दिन भन्नेबित्तिकै हाम्रो दिमागमा घमाईलो दिनको याद आउँछ, सरर… चिसो हावा मनमा बहन्छ । सामान्य अवस्थालाई हेर्ने हो भने असोजको मध्यबाट पानी पर्न लगभग बन्द भएर चिसो छिर्छ । तर यसपालीको मनसुनले नेपालबाट बिदा लिईनसकेको अवस्थामा हामी हिले दशैंको नवौं दिनमा छौं । यो हप्ताको अन्तसम्मनै मौसन बदली रहने सम्भावना देखिएको छ । दशमीको दिन बागमति र प्रदेश नं. १ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ अर्थात पिङ खेल्न तिहार नै पर्खिनुपर्ने देखिन्छ ।
यो दशैंमा हिँडडुल गर्न र रमाईलो गर्न बाहिरफेर निस्कने माहोल छैन । सहर बजार यसै सुनसान छ भने गाउँघरमा पनि मान्छेहरुको चहलपहल वर्षाले घटाएको छ । त्यसका बाबजुत पनि पिङ हालेका ठाउँमा पुग्ने हो भने केटाकेटी र टाढा हिँडेका मानिसहरू एकैछिन रोकिएर पिङ खेलेको देख्न पाईन्छ ।
दशैंलाई समृद्दिको पर्व मानिन्छ, पिङ खेल्ने, मनोरञ्जन गर्ने समय पनि हो । यसपालिको दशैंमा हराउँदै गएको पिङ हुस्सुभित्र हराएको छ ।
यो हप्ता नेपालभरकै मौसम बदली रहेकाले देशका अधिकांश ठाउँमा दशैं हिले हुने पक्कापक्कि छ । हाल प्रदेश नं. १, बागमती प्रदेशका विभिन्न ठाउँहरुमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। प्रतिकुल मौसमका बाबजुद पिङमा रमाउने बालबालिकाहरुका केही तस्विरहरु प्रस्तुत गरिएको छः